+[Add New Record]
Search By Alphabet: A B C D E F G H I J K L M N O P Q R S T U V W X Y Z

[Please feel free to contact Dr. Jay Kant Raut, the curator (Email: nfdcurator@myconast.net.np) of this database if any errors or inconsistencies are found ] This searchable database provides various information on fungal species recorded within the territory of Nepal

Contact us

  • Biological Resource Laboratory, Faculty of Science, NAST. GPO Box:3323, Khumaltar, Lalitpur, Nepal Tel: +977-1-5547714 / 55477368 Fax: +977-1-5547713 Email: info@myconast.net.np
Next »
« Previous

जंगली च्याउ र यसको सुरक्षित उपभोग


जंगली च्याउ र यसको सुरक्षित उपभोग

डा. जय कान्त राउत

च्याउ एक प्रकारको उच्च वर्गको ढुसी हो । यो धर्तिमा उत्पतिको हिसाबले च्याउ मानवजाति भन्दा पुरानो मानिन्छ । भनिन्छ आदिम मानवले पनि च्याउको सेवन गर्थे। च्याउको बारेमा विभिन्न प्राचिन धर्मशास्त्र र श्रुति हरूमा उल्लेख भएको पाइन्छ। ग्रीक र रोमन साम्राटहरुको लागि च्याउ शाही व्यञ्जनको रुपमा प्रयोग भएको कुरा र यसको खाद्य महत्वको बारे महान ग्रीक दार्शनिक थेओफ्रास्टस द्वरा लिखित कृतिहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तैगरी ईजिप्ट निवासीहरूले पनि च्याउलाई फ्यारोह (प्राचिन ईजिप्टको राजा)को खानाका अर्थात शाही व्यञ्जनका रुपमा चिन्थे। ऋगवेदमा सोमरसको चर्चा भएको पाइन्छ । सोमरस एउटा पवित्र पेय पदार्थ हो जुन  आर्यहरूले पूजाको समय देवी देवतालाई अर्पण गर्ने गर्दछ । आधुनिक रिसर्चले सोमरसमा च्याउको सारतत्व एउटा अवयवको रुपमा रहेको पुष्टि गरिसकेको छ । ईस्लामहरूकोलागि च्याउ  जन्नतको एउटा व्यञ्जनको रुपमा वर्णित छ।  यसरी शुरुमा च्याउ धनी तथा सम्भ्रान्तहरूको लागि मात्र विलासी भोजनको रुपमा परिचित थिए भने हाल यो गरिब आमजनमानसको खाद्ध तथा पोषण सुरक्षा लगायत आर्थिक सुरक्षाको दृष्टिकोणले प्रकृतिको एउटा अनुपम उपहारको रुपमा देखिएको छ ।

परम्परागतरुपमा च्याउलाई वनस्पति भनिएतापनि पछिल्ला अध्ययन र अनुसन्धानबाट च्याउ वनस्पति र जन्तु भन्दा अलग्गै रहेको तथ्य प्रमाणित भइसकेको छ । ढुसी किराहरूपछिको दोस्रो ठूलो जीवहरुको समूह हो। पृथ्वीमा १५ लाख ढुसी मध्ये १४०,००० च्याउका प्रजातिहरु रहेको प्रारम्भिक अनुमान छ  जसमध्ये हालसम्म करीब १४,००० च्याउहरू मात्र पता लागेका छन् जुन कुल अनुमानित संख्याको १० प्रतिशत मात्र हुनआउछ। कुल १४,००० च्याउहरू मध्ये करीब ५० प्रतिशत अर्थात ७००० प्रजाति विभिन्न तहसम्म खानयोग्य मानिन्छ। यी मध्ये वैज्ञानिकहरूले अहिलेसम्म २०० प्रजाति जति प्रयोगशालामा उम्रान सफलभइसकेका छन्। संसारभरि नै १०० जति आर्थिक दृष्टिकोणले र लगभग ६० जति व्यावसायिक हिसाबले खेति गर्न सफल देखिएका छन् भने  १० प्रजाति जति विभिन्न मुलुकहरूमा औद्योगिक स्तरमा खेति भइरहेका छन्। करीब २००० जति औषधीय गुण भएका छन्। विषालु च्याउको संख्या तुलनात्मक रुपमा अत्यन्तै न्युन (करीब एक प्रतिशत) पाइएको भएपनि यसको संख्या करिब १० प्रतिशत सम्म हुन सक्ने अनुमान गरिएको छ। यी मध्ये लगभग ३० प्रजाति जति मृत्युजन्य मानिन्छ।

नेपालमा पनि करीब १,१२१ जंगली च्याउहरू भेटिएका छन् जसमध्ये १४७ जति खानयोग्य, ७३ जति औषधिय गुण भएका र १०० जति विषालु प्रकृतिका छन्।

प्राचिनकालदेखि नै च्याउ खाद्य र औषधीको रुपमा प्रयोग हुँदै आएको हुनाले च्याउ विषाक्तताको इतिहास पनि निकै पुरानो मानिन्छ । ऋगवेद र अथर्ववेद जस्ता पौराणिक ग्रन्थहरुमा च्याउ विषाक्तता सम्बन्धी घटनाहरूको उल्लेख भएको पाइन्छ । रोमण सम्राट क्लाउडियस सिजर, चार्ल्स छैठौं, पोप क्लेमेन्ट सातौँ, सिदार्थ गौतम (भगमान बुद्ध) जस्ता  केही ऐतिहासिक महापुरुषहरूको मृत्यु पनि च्याउ विषाक्ततासँग जोडिएको छ । पछिल्लो समयमा विश्वव्यापीरुपमा जंगली च्याउको संकलन, उपभोग र व्यापारमा भएको तीब्र बृद्धिका कारण च्याउ विषाक्तताका घटना पनि बढेर गएको छ । हाल विश्वका अधिकांश मुलुकमा जंगली च्याउको संकलन, उपभोग र व्यापार हुने गरेको पाईन्छ । जंगली च्याउको विश्वबजार बार्षिक सात अर्ब अमेरिकी डलर नाघिसकेको छ । जापान र पश्चिमी यूरोपका देशहरू यसका प्रमुख आयातकर्ता मुलुकरू हुन् । च्याउ विषाक्तताका घटनाहरू जापान, अमेरिका, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरूमा घटने गरेका भएतापनि अरू विकसित देशको तुलनामा पश्चिमी यूरोपका देशहरूमा यसको तीब्रता बढी पाइएको छ जहाँ बार्षिक ५०-१०० जनासम्म मानवीय क्षति हुने गर्दछ ।

नेपालमा पनि जंगली च्याउको संकलन र उपभोगको परम्परा निकै पुरानो मानिन्छ । चेपाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार, मगर, राई, लिम्बु, थकाली, दनुवार, थारु आदि नेपालका परम्परागत प्रमुख च्याउभक्षी समुदायहरु हुन् । कमजोर सामाजिक-आर्थिक अवस्था, शिक्षा र चेतनाका कारण यी समुदायमा जंगली च्याउको संकलन र उपभोग सामान्य रहेको पाइन्छ ।  खाद्य स्रोत र स्वाद दुबैकालागि प्रयोग गर्ने गरेका यी समुदायहरुमा जंगलीच्याउ सम्बन्धि आ-आफ्नै किसिमका स्थानीय ज्ञान र मान्यताहरू रहेको पाइन्छ । विभिन्न ठाँउहरूमा जंगली च्याउलाई थप आय आर्जनको रुपमा समेत प्रयोग गर्दै आएको छ । हुनत हाम्रा प्रचुर आर्थिक सम्भावना बोकेका यार्सा, गुच्छी र रातो च्याउ बाहेक अन्य च्याउले राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारको पहुँच पाउन सकेको छैन । एउटा अध्ययन अनुसार नेपालको विभिन्न भागमा खाद्धको रुपमा प्रयोग भइरहेका २१ थरीका च्याउ संसारको अरू देशहरूमा पनि प्रयोग हुने गरेको छ । हाम्रो देशको अधिकांश भु-भागहरूमा यस्ता खालका अध्ययन-अनुसन्धान गर्न बाँकी नै छ । विशिष्ट भौगोलिक अवस्थिति र हावापानीको कारण नेपालमा धेरै प्रकारका च्याउका प्रजातिहरू हुन सक्ने विज्ञहरूको अनुमान छ । खाद्ध तथा पोषण सुरक्षा लगायत आर्थिक सुरक्षाको

हरेक वर्ष मनसुनको शुरुवातसँगै नेपालको वन, पाखा, कान्ला, खोल्सा-खोल्सी र खेतबारीमा थरीथरीका च्याउहरू प्रशस्त मात्रामा उम्रिन्छन् साथै वर्षातको शुरुवातसँगै विषालु च्याउको सेवनबाट सिकिस्त हुने र मृत्युवरण गर्ने घटनाहरू संचार माध्यमहरूबाट निरन्तर रुपमा प्रकाशित भइरहेका हुन्छन्। तुलनात्मकरुपमा उच्च पहाडी क्षेत्रमा भन्दा मध्य पहाडी र तराई क्षेत्रमा विषालु च्याउहरू बढी मात्रामा पाइन्छन् । मुलुकभरि विषका घटनाहरुको दर्ताप्रक्रिया व्यवस्थित र नियमित नभएको हुनाले विषालु च्याउको सेवनबाट हुने दुर्घटनाको यथार्थ तथ्याकं छैन तरपनि यसबाट हुने मृत्युदर वार्षिक ३०-५० जनाको हाराहारीमा रहेको अनुमान छ । धेरै जसो घटनाहरु विकट ग्रामीण क्षेत्रमा घटने भएको हुनाले यो संख्या अझै बढी हुन सक्ने सम्भावना देखिन्छ ।

हालै पाँचथर, खोटाङ, पर्वत, पाल्पा लगायत देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भइसकेको र दर्जनौ अस्पतालमा भर्ना छन् । हुनत हरेक वर्ष देशका विभिन्न भागमा घटने यस्ता दर्जनौ दारुण घटनाहरूको विस्तृत वैज्ञानिक अध्ययन र अनुसन्धान भएको पाइँदैन र वर्षैपिछे यस्ता घटनाहरू दोहोरिरहेका छन् । नियन्त्रणका लागि राज्यबाट गरिएका प्रयासहरू यथेष्ट र प्रभावकारी छैन जसले गर्दा घटनामा कुनै कमी आएको देखिँदैन । स्थिति अत्यन्त गम्भीर र विकराल छ । संसारमा ९५ प्रतिशत च्याउसँग सम्वन्धित मानवीय दुर्घटना यसको गलत पहिचानले गर्दा हुने गरेको तथ्याङ्क छ । खाने च्याउसँगै विषालु च्याउ पनि उम्रिन सक्ने  भएकोले च्याउ टिप्दा अत्यन्तै होश पुरयाउनु पर्ने देखिन्छ । खानहुने र विषालु च्याउ छुट्टाउने कुनै ठोस छिट्टो छरितो र भरपर्दो वैज्ञानिक प्रविधिको विकास भइनसकेकोले यसकोलागि विशेष अनुभव र विज्ञताको नै आवश्यकता पर्दछ । सामान्य मानिससँग रहेका परम्परागत ज्ञान र प्रविधिको आधारमा मात्रै च्याउको सही पहिचान र उपभोग गर्न सुरक्षित मान्न सकिँदैन । नेपालको विभिन्न क्षेत्रमा खान हुने वा नहुने छुट्टाउन स्थानीयरुपमा विभिन्न विधिहरू एवं मान्यताहरू प्रचलनमा रहेको पाइन्छ । ती कुनै पनि मान्यता तथा विधिहरू शतप्रतिशत सही नभएको, अधिकांशमा कुनै वैज्ञानिक आधार नरहेको, अत्यन्त खतरनाक र घातक छन् । केही मान्यता तथा विधिहरू यस प्रकार रहेका छन् ।

·       नून पानीसँग उमाल्दा वा पकाउँदा, सुकाउँदा वा अचार बनाउँदा विष जति सबै नाश भएर जान्छ । # सबै खाले विष जाँदैन ।

·       टिमुर वा चुक हालेर च्याउ पकाउँदा त्यसमा भएका विष नाश भएर जान्छ र खानको लागि सुरक्षित हुन्छ । #  # सबै खाले विष जाँदैन 

·       विषालु जंगली च्याउसँग लसुनका केही पोटीहर वा प्याज राखेर पकाउँदा पोटी वा प्याजको रंग कालो हुन्छ । # सबै खाले विषमा हुँदैन ।

·       पकाएको विषालु च्याउको तरकारीमा चाँदीको सिक्का वा चम्चा चोपेर हेर्दा सिक्का वा चम्चाको रंग कालो हुन्छ। # सबै खाले विषमा हुँदैन ।

·       तितो र परपराउने स्वाद भएका च्याउ विषालु हुन्छन। # सबै हुँदैन ।  

·       चिल्लो छाता भएको च्याउ खानलाई सुरक्षित हुन्छ । # सबै हुँदैन ।

·       काट्दा वा भाँच्दा च्याउबाट दुध निस्कियो भने च्याउ विषालु हुन्छन। # सबै हुँदैन ।

·       काठमा उम्रिने सबै च्याउ खान हुन्छन र माटोमा उम्रिने च्याउ विषालु हुन्छन । # सबै हुँदैन ।

·       कीरा वा अन्य जंगली जनावरले खाएको च्याउ खानलाई सुरक्षित हुन्छन । # सबै हुँदैन ।

·       समूह-समूहमा उम्रेको च्याउ खान हुन्छ। एक्लै-एक्लै उम्रेको च्याउ विषालु हुन्छ । # सबै हुँदैन ।

·       कहिलेकाही विषालु सर्प वा अन्य जंगली जनावरले खाने च्याउलाई विषाक्त बनाइदिन्छ । # ठोस वैज्ञानिक आधार नभएको ।

·       जंगलबाट टिप्पेर वा संकलन गरेर ल्याएको च्याउ मध्ये सबभन्दा पहिले केही भा देउतालाई  अर्पण गरेर बाँकी च्याउ पकाएर खाँदा सुरक्षित हुन्छ#  ठोस वैज्ञानिक आधार नभएको ।

सामान्यतया: विषालु च्याउ खाएर हुने मृत्युदर २० प्रतिशतसम्म देखिएको छ । प्रभावकारी विष व्यवस्थापनका लागि चाहिने दक्ष जनशक्ति र आवश्यक पुर्वाधारको अभाव, पिडित समयमै स्वास्थ्य संस्थामा पुग्न नसक्नु आदि विभिन्न कारणले नेपालमा विषालु च्याउ खाएर हुने मृत्युदर निकै बढी देखिएको छ । च्याउबाट हुने विषाक्तताका घटनाहरु राजधानीका केही प्रमुख अस्पतालहरूमा १-४ प्रतिशत, पुर्वी नेपालका केही प्रमुख अस्पतालहरूमा लगभग ५ प्रतिशत र चितवन जिल्ला अस्पतालमा १ प्रतिशत सम्म पाइएको छ । जबकि अमेरिकामा यस्ता घटनाहरु ०.५ प्रतिशत भन्दा कम रहेको पाइएको छ । विभिन्न प्रजातिहरुमा हुने विषको रासायनिक संरचना फरक-फरका भएको हुनाले मानिसमा विषका असरपनि फरक-फरक देखिन्छन् । विषको गम्भिरता च्याउको भौगोलिक अवस्थिति, विषको मात्रा, च्याउको वंशानुगत गुण र उम्रिने अवस्था आदिमा निर्भर गर्दछ । सामान्यत: बुढापाका, बच्चाहरु र अशक्त व्यक्ति वढी प्रभावित हुन्छन्। कम विषालु च्याउ खाने बितिकै (केही मिनेट भित्र) लक्षणहरू देखा पर्दछन् र पछि निको हुने सम्भावना धेरै हुन्छ भने कडा विष  भएका च्याउ खाँदा लक्षणहरू अलि ढिलो देखा पर्दछन् तर घातक हुन्छ । दुई वा दुईभन्दा बढी जंगलीच्याउहरू मिसाएर खाँदा कहिलेकाहीं लक्षणहरू चाँडै देखा परेपनि त्यस्ता लक्षणहरू गम्भिर प्रकृतिका प्राणनाशक हुनसक्छन् । संसारभरिमा १४ विभिन्न प्रकारका च्याउ विषाक्तता देखिएका छन् । च्याउ विषाक्तताका केही प्रमुख समूहहरू

अमानिटा टाइप विषाक्तता: यो सबैभन्दा गम्भिर र खतरनाक खालका च्याउ विषाक्तता हो किनकि यसका लक्षणहरू च्याउ सेवन गरेको ६-२४ घण्टापछि देखा पर्दछन् तबसम्म विष चाँहि रगतमा मिसिसकेका हुन्छन् र उपचार निकै कठीन भइसकेका हुन्छन ।  अमाटक्सीन र फ्यालोटक्सीन यस समूहमा पर्ने प्रमुख विष हुन् जुन पीडितको कलेजोमा जम्मा भई अन्तत: कलेजोलाई क्षति पुरयाउँछ । अमाटक्सीन विषाक्तताबाट हुने मृत्युदर चाँडै र राम्रो उपचार उपलब्ध नभएको ठाँउमा ५० प्रतिशत सम्म पाइएको छ । यो समूहको विषबाट सबभन्दा बढी मानवीय दुर्घटना घटने गर्दछन् ।  लगभग ५० मिलिग्राम अमाटक्सीनले मान्छेको मृत्यु गराउन सक्दछ जसको लागि एउटा अमानिटा फ्लोइडस् च्याउ काफी हुन्छ । च्याउ विषाक्तताबाट हुने मृत्यु मध्ये लगभग ९५ प्रतिशत मृत्युको घटना अमाटक्सीन समूहको विषाक्तताको कारण घटने गर्दछन् । नेपालमा पनि घटने विषालु च्याउका घटनाहरू प्राय: विषालु अमानिटा प्रजातिका च्याउको सेवनबाट घटने गरेको अनुमान छ ।

यस समूहका विष अमानिटा, लेपिओटा, कोनोसाइबे, ग्यालेरिना आदिका प्रजातिहरूमा पाइन्छन् । यसका प्रमुख लक्षणहरू असहय पेट दुख्ने, रिङ्टा लाग्ने, तीब्र वान्ता हुने, झाडापाखाला लाग्ने, पसीना छुटने, अत्यधिक तीर्खा लाग्ने हुन् जुन ४८ घण्टामा हराउनसक्छ । यसको प्रतिविष (एन्टिडोट) विकास भइसकेको छैन ।

ओरेलैनिन टाइप विषाक्तता: यसको प्रमुख कारण ओरेलैनिन् भन्ने विष हो जुन कर्टेनेरियस ओरेलैनस भन्ने च्याउमा पाइन्छ । यसका लक्षणहरू च्याउ सेवन गरेको ३६ घन्टा देखि ३ हप्ता भित्र देखा पर्न सक्दछन् । मन्द ग्यासट्रोइनटेस्टिनल् लक्षण बाहेक टाउको दुख्ने, मुख सुखा हुने र पोल्ने, तीब्र तिर्खा लाग्ने, बारम्बार पिशाब लाग्ने र मृगौला नै काम गर्न छोड्ने जस्ता यसका प्रमुख लक्षणहरु हुन् । यी बाहेक कहिलेकाँही कान बज्ने, हातखुट्टा सुन्निने र दुख्ने, कमजोर दृष्टि, श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरू देखा पर्दछन् । यसको प्रतिविष (एन्टिडोट) उपलब्ध छैन ।

गाइरोमित्रीन् टाइप विषाक्तता: यसको प्रमुख कारण गाइरोमित्रीन् भन्ने विष हो जुन गाइरोमित्रा र हेलवेला प्रजातिका च्याउहरूमा पाइन्छन् । यसका लक्षणहरु च्याउ सेवन गरेको २-२४ घन्टाभित्र देखा पर्न सक्दछन् ।  टाउको दुख्नु, तीब्र झाडापखाला र वान्ता हुनु, हेमोलाइसिस्, मेथेमोग्लोबिनेमिया, कलेजो वा मृगौला असफल हुने, केन्द्रिय स्नायु प्रणालीमा विभिन्न समस्याहरु देखा पर्नु यसका केही प्रमुख लक्षणहरू हुन् । यसको प्रतिविष छैन ।

मस्करीन टाइप विषाक्तता: यस समूहका प्रमुख विषहरू मस्करीन र इबोटेनिक एसिड हुन् जुन अमानिटा पैन्थेरीना, अमानिटा मस्कारीया, इनोसाईबे र क्लाइटोसाइबेका केही प्रजातिहरुमा पाइन्छ । प्राय: लक्षणहरु झाडापखाला, वान्ता, रयाल बग्ने आदि च्याउ सेवन गर्नेवितिकै (केही मिनेट भित्र) देखा पर्दछ । आँखाको नानी सानो हुने, धमिलो दृष्टि हुने, आँसु आउने, मुटुको धडकन कम हुने, ब्लड प्रेशर कम हुने, श्वास फेर्न गाह्रो हुने, पसीना आउने, काम्ने आदि यसका प्रमुख लक्षणहरू हुन् । यसको प्रतिविष (एन्टिडोट) उपलब्ध छ ।

साइकोट्रपिक\हलुसिनोजेनिक (भ्रान्तिजनक) विषाक्तता: यस समूहका प्रमुख विषहरू  सिलोसिन् र सिलोसाइविन हुन् जुन सिलोसाइबे, कोनोसाइबे र स्ट्रफरिया च्याउका प्रजातिहरूमा पाइन्छन् । यस समुहका विषले सिधै केन्द्रिय स्नायु प्रणालीलाई प्रभावित गर्दछ । दृष्टिभ्रम, प्रसन्नता र खिन्नताको मिश्रित अनुभुति, वान्ता, तीब्र मुटुको धड्कन आदि यसका प्रमुख लक्षणहरू हुन् ।

कपरीन टाइप विषाक्तता: कपरीनस च्याउका केही प्रजाति (जस्तै कपरीनस मिकासियस्, कपरीनस अट्रामेन्टेरीया) जब अल्कोहलसँग सेवन गरिन्छ अनुहार रातो हुने, रिङ्टा लाग्ने, पसिना आउने, मुटुको धड्कन बढने, कहिलेकाही वान्ता हुने र झाडापाखाला लाग्ने जस्ता सामान्य लक्षणहरू देखा पर्दछन्।

बाह्रय स्रोतबाट हुने विषाक्तता: यस प्रकारको विषाक्तताको स्रोत च्याउ आफैं नभइकन च्याउमा जम्मा भएका बाह्रय विषैला पदार्थ हो । यसका प्रमुख कारण अत्यधिक वातावरणीय प्रदूषणको कारण च्याउमा रेडियोधर्मी पदार्थ र गह्रौ धातुको सञ्चय हो ।

व्यवस्थापनका उपायहरू

दुई वर्ष अघि विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा सम्पन्न विज्ञ, नीतिनिर्माता र च्याउकर्मीहरूको एक दिने राष्ट्रिय भेलाले हरेक वर्ष देशका विभिन्न भागमा घटने च्याउ विषाक्तताका दर्जनौ दारुण घटनाहरुको प्रभावकारी व्यवस्थापन गर्न बुँदागतरुपमा केही उपायहरु सुझाएका थिए । घटना नियन्त्रण तथा व्यवस्थापनका लागि राज्यस्तरबाट केही प्रयासहरू भएतापनि ती प्रयाप्त र प्रभावकारी हुन सकेको छैन । केही महत्वपूर्ण उपायहरू

 

सामुदायिक स्तरमा गर्नु पर्ने कार्यहरू

·       ठाउँ-ठाउँमा विष नियन्त्रण केन्द्रहरको स्थापना गर्ने जसले विषालु च्याउको बारेमा सर्वसाधारणलाई शिक्षित गर्नुकोसाथै प्राथमिक उपचारको व्यवस्थापन गर्दछ ।

·       विभिन्न किसिमका च्याउ विषाक्तताको प्रभावकारी व्यवस्थापन गर्न स्वस्थ्यकर्मीहरलाई आवश्यक तालिम प्रदान गर्नुको साथै आधुनिक उपकरण तथा प्रविधिको व्यवस्था मिलाउने

·       च्याउको विविध पक्षबारे अध्ययन-अनुसन्धान गर्न राष्ट्रियस्तरको सुविधा सम्पन्न छुट्टै निकायको गठन गर्ने र विभिन्न क्षेत्रमा पाइने जंगली च्याउहरूको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा अभिलेखीकरण यथासिघ्र सम्पन्न गर्ने

·       च्याउको गुण नियन्त्रण तथा प्रमाणिकरण गर्न आवश्यक प्रणालीको विकास गर्ने स्थानीयस्तरमा उपयुक्त व्यक्तिको पहिचान गरेर गुण नियन्त्रण तथा प्रमाणिकरण गर्न प्रशिक्षित गर्ने यसको लागि लाईसेन्स प्रदान गर्ने

·       विषालु जङ्गली च्याउबारे व्यापकरूपमा स्थानिय तथा राष्ट्रिय संचार माध्यमहर, कार्यशाला, गोष्ठी, च्याउ मेला, पोष्टर, पम्फलेट आदिको माधयमबाट विभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरू संचालन गर्ने

·       जनसमुदायमा जंगली च्याउको विकल्पमा यसको व्यवसायिक खेतीको लागि प्रोत्साहन गर्ने

·       विद्यालय देखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा च्याउ सम्बन्धी कोर्सहर प्रयाप्त मात्रामा समावेश गर्ने

व्यक्तिगत स्तरमा अपनाउनु पर्ने केही सावधानीहरू

·       सकभर जंगली च्याउ नखाने खान हुने भनी प्रमाणित् गरिएका च्याउ मात्र खाने

·       च्याउमा भएको विष उमालेर अथवा पकाएर जाँदैन भने कुराको हेक्का राख्ने

·       च्याउसँग अल्कोहल (रक्सी)को सेवन कहिले पनि नगर्ने

·       विषालु च्याउ सेवन गरेको शंका लागेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा विष केन्द्रमा सम्पर्क राख्ने